लेखिने आशामै अस्ताए कवि के. सी. –असफल गौतम - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

लेखिने आशामै अस्ताए कवि के. सी. –असफल गौतम

 स्रष्टा सम्झना

             लेखिने आशामै अस्ताए कवि के. सी.

–असफल गौतम

मैले नेपाली वाङ्मयका जति साहित्य साधकहरूसँग साक्षात्कार गरें, त्यो वि.सं. २०५८ सालपछि मात्रै सम्भव भयो । सो समयभन्दा अघि नाममा मात्रमा चिनेको थिएँ जुन समय म पोखरा झरें। मलाई पोखराले नै पोखरा झा¥यो≤ नेपाली वाङ्मयको क्षेत्रमा लाग्नका लागि उस्कायो। त्यसपछि हिजो पढेका कथा, कविता, उपन्यास, निबन्ध, समालोचनाजस्ता विविध विधामा सुनेका नामहरूसँग साक्षात्कार र भलाकुसारी गर्ने मौका मेरो साहित्यिक यात्रा र पोखरा बसाइले दिएको हो भन्दा मलाई कुनै अप्ठ्यारो हुँदैन । यसरी भेटिने र चिनिने क्रममा मसँग जोडिएका कवि हुन् कुलबहादुर के.सी. जसलाई मैले छिटो चिनेँ या ढिलो केही भन्न सक्दिनँ। जहिले चिनें राम्रोसँग नबिर्सने गरेर चिनें। यो मेरो पोखरामा रहेर साहित्यिक यात्रा थालनी गरेपछिको उपलब्धि मानेको छु। उनीसँग पहिलो पटक मैले लामो समय कुराकानी गरेको शुक्ला साहित्य समिति, बाटुलेचौरले जीवन शर्मालाई शुक्ला साहित्य पुरस्कार वितरण गर्दाको दिन हो। जुन समयसम्म मेरा दुई गीति एल्बम र दुई साहित्यिक कृति प्रकाशन भइसकेको समय २०६७ कात्तिक २६ गते शुक्रबारको दिन थियो। जुन दिन मेरो इतिहासमा अविस्मरणीय दिन बनेर बसेको छ । मैले सो समयसम्म उनका कविता कृतिहरू केही मात्र अध्ययन गर्न पाएको थिएँ । जब मेरो कलम विविध विधाका कृतिमाथि टीकाटिप्पणीमा केन्द्रित हुन थाल्यो । पोखरेली मुक्तक कृतिहरूको अध्ययन गर्दाको समयमा मैले उनका मुक्तक कृतिमाथि चर्चा गरिसकेको थिएँ । जुन लेखाइले थोरबहुत कवि के.सी.को मन छोएको मलाई आभास भएको थियो। 
पछिल्लो समय दुनियाँ संसार यसरी साँघुरो भएर गयो । हिजोका समयमा पनि २४ घण्टाको एक दिन, ६० मिनेटको एक घण्टा र ६० सेकेण्डको एक मिनेट थियो, वर्तमानमा पनि त्यही छ। त्यो मात्र हैन पृथ्वीको लम्बाइ, अक्षांश, चौडाइ र गोलाद्र्ध सबै कुरा उस्तै छन् तर पनि मलाई कताकता पृथ्वी नै साँघुरो भएको आभास भयो जुन दिन मैले कवि के.सी.लाई भेटें। उनी ओम हस्पिटलमा उपचारका क्रममा थिए । जिउ केही फुलेको थियो । ‘के बिमार भएको हो पत्तो लागेन, सम्पूर्ण कुराको चेक गराइसकियो।’ उनी चिन्तित देखिन्थे। मसँग स्वास्थ्यलाभको कामना गर्नुबाहेक अर्को विकल्प थिएन। जसरी समयले आफ्नो गतिमा बहादुरिता देखाएको थियो त्यसै गरेर कवि के.सी.को स्वास्थ्यमाथि पनि हिजोको तुलनामा समयले आज निकै बहादुरिता प्रदर्शन गरिरहेको आभास मिल्यो मलाई । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई वि.सं. २०६९ कात्तिक १६ गते एक कार्यक्रमका बीच सम्मान ग¥यो। बढ्दो समयको बहादुरीपनको अगाडि कवि के.सी.कोे स्फूर्ति, जोश, जाँगर र शक्ति घटेको मैले पाएँ । मान्छे बेइमान, धुत्याइँ, छलकपट र जालझेलमा लागेको त जान्ने भएदेखि देखेको थिएँ । समय पनि यसरी बेइमान बनेछ भन्ने मलाई लाग्यो जुन मेरो कल्पनामा आवश्यकताभन्दा निकै फस्टाएको भान भयो। वर्तमान पनि यसरी स्वार्थी भयो । मान्छे त हिजोदेखि नै आम मान्छेभन्दा माथि पुग्ने होडबाजीले एकले अर्कोलाई लतार्ने, पछार्ने, उचाल्ने, खसाल्ने, समात्ने र हुत्याउने फकाउने नभए लुट्ने प्रवृत्ति पालेर आफूलाई विकसित गरेको थियो। आधुनिक समयको इमानदार, परिश्रमी, मेहेनती बनाएको थियो आफ्नो विचारमा तर दुनियाँको नजरमा बुज्रुग इमान्दार बनेर । समयले नै मान्छेलाई धोका दिएपछि कसको के लाग्दो रहेछ, मलाई चिन्तामा डुबायो । उनलाई दिइएको उक्त सम्मान कुनै वार्षिक कार्ययोजनानुरूपको थिएन । उनको बिगँ्रदो स्वास्थ्यस्थितिले गर्दा उपचारमा केही भए पनि राहत पुग्ला भनेर नगद १५ हजारसहित सम्मान गरियो । मैले उनको सम्मानका लागि गोजीमा खादा बोकेर हिँडेको थिएँ । पहिराएँ, बधाई दिएँ, स्वास्थ्यलाभको कामना गरँे । अन्तमा सम्मानित व्यक्तित्वको मन्तव्य राखे जुन दिन उनले आफूलाई यसरी पोेखेः ‘आज भन्नुपर्ने धेरै कुरा थिए, सबैलाई निस्कन हतार भयो, धेरै के भनूँ ? दुई वर्षको टुहुरो हुर्काएर बचे । अरू विधामा लागेको भए राम्रो चर्चा हुने थियो, कविता लेखेर गल्ती गरें। म नलेखिएको पात्र हुँ, अब लेखिनेछु भन्ने पनि लागेको छैन। मैले कविता लेखेर गल्ती गरें।’ जुन क्षण मेरो मन भाव विव्हल भयो। मलाई उनका अरू कुनै पनि कुराले छोएन । छोयो त जुन कुराले दुई वर्षको टुहुरो, म नलेखिएको पात्र हुँ । मैले आफूलाई नियालेर हेरें। म पनि उनको उमेरभन्दा झन् सानो उमेरमा टुहुरो बनेको व्यक्ति, मेरी हजुरआमाले वर्षदिनको टुहुरोलाई कसरी हुर्काउनुभयो पत्तो छैन । उक्त विषयमा लागेर म डुब्न आजसम्म चाहिनँ । मैले उनको नलेखिएको पात्र हुँ भन्ने शब्द सुनेपछि नै उनका कृतिका बारेमा जे जति सक्छु त्यति लेख्नेछु भनेर अन्तरात्मादेखि प्रण गरेर निस्केँ। 
कवि कुलबहादुर के. सी.
‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍---------------------------------

पछिल्लो समय मलाई पुनः उनै कवि के.सी.सँग साक्षात्कार गर्ने अवसर जुटाइदियो परिस्थितिले । हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषले साहित्य पुरस्कार कुलबहादुर के.सी.लाई दिने निर्णय गरेछ २०६९ फागुन ९ गते। कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको रहेछ । सचिव पद्मराज ढकालको संयोजकत्वमा यमबहादुर पौडेल र ताराप्रसाद तिमिल्सिना सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसअनुसार कवि के.सी.को तीन दशक अघिदेखि साहित्यिक क्षेत्रको क्रियाशीलतालाई ध्यानमा राखेर सम्मान गर्न लागेकोमा मलाई पनि खुसी लाग्यो । साहित्य र सङ्गीतको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारबाट साहित्य क्षेत्रमा पहिलो पटक कवि कुलबहादुर के.सी.लाई सम्मान गर्न लागिएकोले मलाई हर्षबोध भएको थियो। पुरस्कारको राशी नगद रू. १५ हजार, सम्मानपत्र र दोसल्ला रहेको थियो, त्यसले केही भए पनि छोरा मानबहादुर र बुहारी हरिकला के.सी.लाई राहत पुग्ने भयो भन्ने लाग्यो। मैले २०६९ फागुन ९ गते बेलुका ७ बजे खबर र निम्तो पाएँ । भोलिपल्ट दिनको २ बजेको कार्यक्रमको बारेमा । खुसी लाग्यो प्रतिभा छनौट समितिका पद्मराज ढकाललाई बधाई दिएँ, राम्रो काम गर्नुभयो भनेर र भोलिको दुई बजेको समयलाई कुरेर बसें उनको घरमा जानका लागि । केही पत्रपत्रिकाका साथीहरूलाई खबर गरे । रेडियो नेपालका पूर्णचन्द्र घिमिरेलाई पनि जानकारी गराएँ । ‘समय के हो केही भन्न सकिँदैन, २ बजेको समय मिलाएर आउनुहोला।’ उहाँले पनि म आउँछु भन्ने इसारा गर्नुभयो । १० गतेको १ बजेतिर म कवि के.सी.को घरमा पुगें। आशाका मधुरा किरणहरूले सम्भावना छिचोलेको पाएँ । मैले पहिलो पटक देखेको कवि के.सी. र वर्तमानमा देखेको के.सी.मा आकास–जमिनको फरक थिया जुन कुरा म व्यक्त गर्नै सक्दिनँ । मान्छेभित्रको दयनीयता र सङ्कटको पर्दाफास व्यक्त गरेर पनि सकिन्थ्यो तर वर्तमान समयको जटिलतालाई पर्दाफास गर्न नसकिने रहेछ, मैले सो मूल्याङ्कन गरें । आजको समकालीन परिवेश र सन्दर्भमा हिजोका कवि के.सी. हिजोका जस्ता थिएनन् । हिजो उनी आफ्नो विचारको मसीले जनताको प्रेम ओकल्थे, पीडाको घाउमा मलम लगाउँथे । बढ्दो महड्डीको विरोध गर्थे । सङ्कट र समस्या समाधानको बाटो खोज्ने यस्तै विषय, समय, सन्दर्भ र परिवेशलाई उठान गर्थे तर आज त्यो थिएन । ती हिजोका उनका समय र सन्दर्भहरूले आज उनैलाई जिस्क्याएको जस्तो मलाई अनुभूति भयो । जब घरमा सम्पूर्ण साहित्यकारहरूको उपस्थिति बाक्लिँदै जान थाल्यो त्यति उनको मुहार हँसिलो पनि भएको थियो । उनका छोराबुहारीलाई सलाम व्यक्त गर्नैपर्छ । निकै मेहेनतका साथ बाबाको स्याहारसुसार गरेर पालेको देख्दा कोही छोराबुहारी यस्ता इमानदार र कर्मप्रेमी हुँदा रहेछन् भन्ने लाग्यो । हुन पनि उनीहरू गाउँमा नमुना छोराबुहारी बनेको मलाई आभास भयो। बाबाका पुस्तकहरू प्रकाशनका लागि पनि धेरै खर्च गरेको मैले पाएँ । दर्जनौं संस्थाबाट सम्मानित भएका के.सी.को २०६८ सालमै हिमालय क्लब, बाटुलेचौरको आयोजनामा एकल कवितावाचन कार्यक्रम पनि सम्पन्न भइसकेको थियो । कवि के.सी. लामो समयदेखि अस्वस्थ भएका कारण घरमै आराम गरिरहेका थिए । सोही कारण फागुन १० गते बिहीबार के.सी.कै घरमा गएर उनको सम्मान ग¥यो कोषले । कोषका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सम्मानपत्र र नगद प्रदान गरे । संरक्षक रामबहादुर कोइरालाले फूलको माला र हरिदेवी कोइरालाले दोसल्ला ओढाए । सम्मान कार्यक्रममा उनकै घरमा पोखराका साहित्यकारहरू पुगेपछि उनी राम्ररी आÇना आवाजहरू बाहिर ल्याउन नसके पनि भित्रभित्रै खुसी देखिन्थे । बोल्न दिँदै गर्दा भित्रै मनबाट बोल्न खोजे पनि उनको आवाज भने राम्रोसँग बाहिर आउन सकेन । सानो स्वरमा भने, ‘सम्मानले साहस थपिएको छ।’ सोही अवसर पारेर हरिदेवी कोइरालाले आÇना गीतहरू रेकर्डिङ गर्नका लागि कवि के.सी.ले प्रारम्भमा ठूलो प्रेरणा दिएको बताइन् । उनले ‘पाइनँ खबर’ गीत गाउँदै गर्दा कवि के.सी. पनि मुस्कुराए । नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा, गण्डकी साहित्य सङ्गम तथा गण्डकी साहित्य सङ्गमका अध्यक्ष नारायण परिश्रमी, प्रगतिशील लेखक सङ्घ कास्कीका सचिव डा. कृष्णराज अधिकारी, समाजसेवी लीलाभक्त आचार्य, लोकगायक चेकबहादुर बरूवाल, अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्रगतिशील लेखक सङ्घ, कास्कीका सचिव कृष्णराज अधिकारी, शुक्ला साहित्य समितिका अध्यक्ष नेत्रबहादुर बानियाँ, कस्केली अधिकृत समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, रेडियो तरङ्गका स्टेशनर मेनेजर हिमनिधि लौडारी, लोकगायक पद्मराज ढकाल, साहित्यकारहरू ताराप्रसाद तिमिल्सिना, रूद्रबहादुर थापा, लक्ष्मण गौतम, अम्बिका भट्टराई, छवि सुवेदी, देवी त्रिपाठीलगायतले कवि के.सी.को योगदानको चर्चा परिचर्चा गरे । 

समय आफ्नै गतिमा हिँड्यो । हामी फर्कने तयारीमा लाग्यौं । म निस्किसकेको थिएँ । ‘असफलजी’ भनेर कवि के.सी.ले बोलाए । म फर्केर गएँ । अब घरमा बाबु, छोरा बुहारी, रेडियो तरङ्गका हिमनिधि लौडारी र रविना आले मगर मात्र थिए । म छेउमा गएर बसेँ । मैले कल्पना पनि गरेको थिइनँ उनले मलाई यसो भन्नेछन् भनेर । जुन कल्पना थिएन त्यही भयो । ‘आजसम्म मेरो घर टेक्नुभएको थिएन, आज टेक्नुभयो, खुसी लाग्यो।’ “म आउँछु किन नआउने, अब आइरहनेछु नि” भनें। उनले यसो भनिरहँदा मैले दुई वर्षअगाडिको समय सम्झेँ । शुक्ला साहित्य समितिको कार्यक्रममा बाटुलेचौर जाँदाको र उनका मुक्तककृतिमाथिको मेरो टिप्पणीका कारण नै उनीबाट उक्त कुरा व्यक्त भएको हो भन्ने कुरामा मैले दुई मत राख्नुपर्ने देखिनँ । ‘अलि मियाँले सम्मान गर्दा भनेको कुरा मैले बिर्सेको छैन, हजुरका पुस्तकमाथि मैले केही लेख्नेछु।’ एकछिन बसेर उनलाई निस्कने बेलामा मैले यही वचन दिएर निस्कें । बिडम्बना आज उनका काव्यकृतिमाथिको मेरो लेखन प्रकाशन नहुँदै उनी हामीमाझबाट ओझेल परे । अरूबाट लेखिने आशा पाल्दापाल्दै उनको भौतिक शरीर हामीबाट बिदा भए पनि उनका अमर कृति हामीमाझ रहिरहेका छन् । ती निरन्तर बाँच्नेछन् इतिहासको कालखण्डमा । उनी स्वयम् आफूलाई नै अरूबाट लेखिएको हेर्ने मौका नमिले पनि उनी आफ्ना कृतिद्वारा आफैं लेखिएका छन् र अरूद्वारा पनि लेखिनेछन्, लेखिने क्रम जारी रहेको छ । आज उनी हामीमाझ नरहे पनि उनका कृति अजर अमर रहेका छन् ।

शब्दचित्रमा कवि के.सी. 
नामः वि. सं. २००३ असार १४ गते, बाटुलेचौर, पोखरा, कास्की
माताः उषा के.सी. 
पिताः भोजराज के.सी. 
कृतिहरुः मुटुका झिल्का (कवितासङ्ग्रह, २०३९)
गरिब उस्तै छ (लघु खण्डकाव्य र भैलो, झ्याउरे, २०४०)
गाउँले (कवितासङ्ग्रह, २०५२)
आशौच बार्दै छन् कविताहरु (कवितासङ्ग्रह, २०६१)
विजय उन्मुख अक्षरहरु (कवितासङ्ग्रह, २०६४) 
आलोक (खण्डकाव्य)
समयका सौगातहरु (कवितासङ्ग्रह, २०२६७)
समय तरङ्ग (भाग १ र २) (मुक्तकसङ्ग्रह २०६८÷२०६९)
संलग्नताः शुक्ला साहित्य समिति
प्रगतिशील लेखक संघ
पुरस्कार÷सम्मानः  राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति (सम्मान, लमजुङ) अम्बा प्रतिभा पुरस्कार, गण्डकी साहित्य पुरस्कार, हरिदेवी कोइराला राष्ट्रि«य साहित्य पुरस्कार, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान सम्मान, लेखनाथ साहित्य प्रतिष्ठान सम्मान, जनसाँस्कृतिक मञ्च सम्मान
मृत्युः वि. सं. २०६९ चैत्र २ गते

No comments:

Post a Comment