अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस् (कविता)–आर. आर. चौलागाईं - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस् (कविता)–आर. आर. चौलागाईं

 

अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

                                              –आर. आर. चौलागाईं




अब आउने नयाँ वर्ष
अहिलेको जस्तो धुलो र धुवाँको नहोस्
अहिलेको जस्तो अविश्वासको नहोस्
अहिलेको जस्तो हिलो र मैलोको नहोस्
अहिलेको जस्तो असहमतिको नहोस्
अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस्
अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो नहोस्
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस् ।

अब आउने नयाँ वर्ष
तिर्खा लागेर छट्पटिएको काकाकुलजस्तो नहोस्
बिनाउद्देश्य गन्तव्य हराएको यात्रीजस्तो नहोस्
अलपत्र भएर मिल्किएको र भाँचिएको छाताजस्तो नहोस्
बिनानियमको, बिनाविधानको र बिनाअनुशासनको नहोस्
ब्रेक फेल भएर कुदिरहेको गाडीको पाङ्ग्राजस्तो नहोस्
अहिलेको जस्तो पटक्कै नहोस्, हुँदै नहोस्
अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस् ।

अब आउने नयाँ वर्ष
विश्वासै विश्वास बोकेर आओस्
सबैले पालना गर्ने नीति–नियम बोकेर आओस्
सहमतिको खाका बोकेर आओस्
घैलाभरि स्वच्छ पानी बोकेर आओस्
घाइतेहरूका लागि सञ्जीवनी बुटी बोकेर आओस्
अधमरोहरूका लागि अक्सिजन बोकेर आओस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।
अब आउने नयाँ वर्ष
हामीमाथिको नीलो र सङ्लो आकासजस्तो भएर आओस्
लोभलाग्दो हरियो वन, पाखा र पहाडजस्तो भएर आओस्
मनै हर्ने हिमालको सेतो र कञ्चन रङजस्तो भएर आओस्
दाजुभाइ र दिदीबहिनीलाई लडाउने होइन मिलाउने बलियो डोरी भएर आओस्
न्याय हराएकाहरूका लागि एउटा भरपर्दो आधार भएर आओस्
आजसम्म हामीले के–के सोचेका थियौँ ती सबैको भरोसा भएर आओस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।

अब आउने नयाँ वर्ष
अहिलेको जस्तो नहोस्
अब आउने नयाँ वर्ष
सुन्दर, सफा र हराभरा भएर आओस् ।


                           हेटौँडा–४, अभिकुञ्ज
                           मित्रनगर, मकवानपुर (नेपाल)
                                     E-mail : [email protected]
                                     URL    : www.rrchaulagain.com
 

No comments:

Post a Comment