मुक्तक-अल्पविराम, भीम रानाभाट, भुवन क्षेत्री, डीआर शर्मा, हरिकृष्ण पोखरेल, इन्द्रकुमार विकल्प, नारायण मरासिनी, नवराज पहाडी, शीतल गिरी, सुरेन्द्र सदिच्छा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, July 3, 2021

मुक्तक-अल्पविराम, भीम रानाभाट, भुवन क्षेत्री, डीआर शर्मा, हरिकृष्ण पोखरेल, इन्द्रकुमार विकल्प, नारायण मरासिनी, नवराज पहाडी, शीतल गिरी, सुरेन्द्र सदिच्छा

 

मुक्तक

                 
                    –अल्पबिराम















पानी पर्छ भनेको दिन,  झलमल्ल घाम लाग्छ
फलिफाप भनेको दिन, सङ्कटको लाम लाग्छ
धन्य हो तिम्रो राशिफल, ज्योतिष बाजे
तर चिन्ता लिन्नँ म, उल्ट्याएर बुझ्दा काम लाग्छ ।

काली कमिनीको किड्नी पाएर गोरी बिष्टिनी बाँचिन् अरे
पुनर्जन्म पाएर उनी आँगनीमा छम्छम्ती नाचिन् अरे
जातीय समानताको कुरा गर्दा बाझ्न आउने साहुनी बज्यै
अचेल छोईछिटोको कुरा गर्दा मुसुक्क हाँस्छिन् अरे ।

संसारै झुटो छ बाचा कसम ख्वाउनुको के अर्थ
देवी देवता आफै अशक्त छन् मन्दिर धाउनुको के अर्थ
धान उमार्ने खेत बारीमा घर उम्रन थालेपछि
मृत्युको सहकालमा धन दौलत पाउनुको के अर्थ ।

तीन मुक्तक

                                    -भीम रानाभाट

                       



खानेभन्दा नखाने अघाएको छ
मित्रले भन्दा विरोधीले सघाएको छ
यो कस्तो मौसम हो राजनीतिको 
बिनाहावाहुरी बिनाबाढीपैह्रो नेताहरुलाई खोलाले बगाएको छ । 

मरुभूमिलाई पनि हराभरा बनाएका छन्
सुन्दर वातावरण हाम्रै कारणले गनाएका छन्
‘बाँदरको हातमा नरिवल’ उखान साँच्चै  भयो 
देश भताभुङ्ग बनाएर महाउत्सव मनाएका छन् । 

कति खेल्छौ फुटबल नेताहरु देश कुप्रिएको छ
विकासतिर उक्लनुपर्नेमा विनाशतिर उफ्रिएको छ
विदेशीको बजार भयो, हाम्रो स्वाभिमान खेर गयो
प्रतिभा पलायनपछि सुन्दर फूलबारीमा फोहोर थुप्रिएको छ ।

 मुक्तक

                                         –भुवन छेत्री















खाली गाली–गलौज र आरोप मात्र कविताको मर्म नबनोस् 
केवल नाथे नेताको टिप्पणी–सचेत स्रष्टाको धर्म नबनोस्
युग परिवर्तनको शङ्खघोÈ गर्दै हिँड्ने– श्रद्धेय कवि महोदय ! 
होसियार ! स्वतन्त्रताको नाममा साहित्य कतै शर्म नबनोस् ।

सम्हालू“ म कतिन्जेल यी तुहिएका सपनाहरु 
आÇनै जिन्दगीको छानाबाट चुहिएका सपनाहरु 
लाचार छु म र मेरा अभिशप्त नजर, जो हेरिरहेछन्
आत्मा बेचेर स्वाभिमान नुहिएका सपनाहरु। 

चुगलीवाला हरदम कसैको केही बात बनाई छाड्छ
साला विश्वासघाती जसै विश्वासमा लात हनाई छाड्छ 
हिंसालाई प्रेमले परास्त गर्छ– हो, तर केवल आदर्शमा गर्छ– 
दुधै पिलाऊ सर्पले एकदिन आÇनो जात जनाई छाड्छ ।

                                          बाँगेफड्के, स्याङ्जा
                                         हाल ः कोपेनहेगन, डेनमार्क

मुक्तक

               –डी. आर. शर्मा
भेडीखर्कमा फुलेको बुकीजस्तै बाँचेको छु म
अँध्यारोलाई धावा बोल्ने टुकीजस्तै बाँचेको छु म
जङ्गी शासनको घेराभित्र स्वतन्त्रताको विगुल फुक्ने
दृढ, निडर नेतृ आङ साङ सुकीजस्तै बाँचेको छु ।

दुई मुक्तक
              -हरिकृष्ण पोखरेल














मलाई हेरी खिस्स हाँसिन् हाँसिदिएँ मैले पनि
छातीमा टाँस मलाई भनिन् टाँसिदिएँ मैले पनि
बार्गेनिङ गर्दागर्दै सबै कुरा मिलिसक्यो
हुन्छ माया गाँसौं भनिन् गाँसिदिएँ मैले पनि ।

सुशान्तिको सपना आज सबले साँचिरा’छन्
अभाव र गरिबीको जीवन बाँचिरा’छन्
निरीह छौं हामी जनता आँखा चिम्लिरा’छौं
हाम्रै अघि नेताहरु नाङ्गै नाचिरा’छन् ।
                                  तारकाङ, कास्की

मुक्तक

                         –इन्द्रकुमार विकल्प














आँधी हुरीसँग सँगै लड्छु भुमरीमै भए पनि नाच्न देऊ
मनभित्र पीडापीडा बाहिरबाहिर भए पनि हाँस्न देऊ
मेरा असमर्थताहरुलाई कमजोरी सम्झियौ ठीकै छ
तिमी करोडमा रमाऊ मलाई रोडमा भए पनि बाँच्न देऊ ।

ढाँटीढाँटी नेता भए अब ढाँट्छन् कसरी
लाज छैन नेता बन्न अब आँट्छन् कसरी
कसलाई दिने भोट जनताले मुहार उस्तै छन्
अब चेते जनताले नभन छाँट्छन् कसरी ।
                                                 पर्वत

तीन मुक्तक 

-नारायण मरासिनी 














रङ्ग न ढङ्गको आफ्नै पारो हुँदो रै’छ
हाम्रो अन्नबाली उसको चारो हुँदो रै’छ
गरिब बस्तीको अनुभव हो यो
हात्ती खेद्न त निकै गाह्रो हुँदो रै’छ ।

पसिनाकै गन्ध आए पनि नरङ्ग्याइएको केश मन पर्छ
ठाउँठाउँमा टालेकै भए पनि आफ्नै भेष मन पर्छ
डलरको लोभमा विदेशिने साथीहरु हो !
मलाई त कङ्गालै भए पनि मेरै देश मन पर्छ ।

दुई पैसाको इज्जत छैन सम्मानित मानिन्छन्
धन देखे घाँसका लागि भैंसीझंै तानिन्छन्
लाटो देशमा गाँडो तन्नेरी, देश यही हो साथी !
जहाँ शैक्षिक माफियाहरु पनि शिक्षाविद् ठानिन्छन् । 

मुक्तक 
              – नवराज पहाडी














नेपालका नेताहरूको के कुरा गर्नु, सुशासनका गफ हाँक्छन्
जनता र राष्ट्रलाई कङ्गाल बनाउँदै सौखमा जीवन साट्छन् 
मालपोत, नापी, प्रशासनजस्ता अड्डाको के कुरा गर्नु हजुर
न्यायालयका फाँटवाला पनि ‘खाजा खान’ भन्दै पैसा माग्छन् ।

मुटुको जस्तै माया माटोको पनि हुने भए कस्तो हुन्थ्यो होला ?
मुखले झैँ नेताहरूले यो देशको माया गरे कस्तो हुन्थ्यो होला ?
भाषा साहित्यकर्मीहरूमा गढेजस्तै नेपाली माटोको माया
राजनीति गर्नेहरूभित्र पनि गडिदिए कस्तो हुन्थ्यो होला ? 
                                                     दुराडाँडा, लमजुङ 

मुक्तक

–शितल गिरी


 











यो संसारमा ठूलै मान्छे बन्ने मन छ
आफ्नो चिहान आफैं खन्ने मन छ
जिन्दगीको कमाइ कति रै’छ भनी बुझ्न
म मरेको दिन मलामी गन्ने मन छ ।

बाँझा खेत र टारीको कुनै गन्ती भेटिन्न
परदेशमा निर्भर छौं स्वदेशको खन्ती भेटिन्न
गाउँघर यति शून्य भा’छ कि आजभोलि
खाँचो पर्दा मलामी र जन्ती भेटिन्न ।

पैसा कमाउने दाउमा ऊ परदेशमा छ 
आमा एक्लै छिन् गाउँमा ऊ परदेशमा छ
नेपालीहरुको शान र स्वाभिमान भुलेर
पुज्दै विदेशी पाउमा ऊ परदेशमा छ ।

                                     कास्कीकोट ७, कास्की

मुक्तक 

                             - सुरेन्द्र सदिच्छा














पत्थरलाई पगाल्न सक्ने पो माया
दुनियाँका सामु अँगाल्न सक्ने पो माया
लुकिछिपी साइने गाँस्ने यो जमातमा
टुक्रिएको माया सँगाल्न सक्ने पो माया ।

तिम्रा क्रान्तिकारी भाषण फिक्का फिक्का
खसेका छन् जनताका आँसु ढिक्का ढिक्का
त्रासद मानसिकतामा बाँचेकाहरुलाई
बाँड्छौ कति सपनाका महल सिक्का सिक्का ।
                                   पोखरा

No comments:

Post a Comment