गीत - गौरी न्यौपाने - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, June 26, 2021

गीत - गौरी न्यौपाने

               


                  गीत

                                             - गौरी न्यौपाने

 खाएर मानो फलाउने मुरी छ खाजा कसार

दहीचिउरा खान आऊ कान्छी नानी हो पन्ध्र असार


असारे गीत लगाइदेउ प्रीत हिलोमा रोपेर

नराख बाँझो सिर्जना भर भिरपाखा खोपेर

मायाले छोऊ छ्यापेर हिलो छ माया नमार

दहीचिउरा खान आऊ कान्छी नानी हो पन्ध्र असार


साइँली र माइली फुकाल पाउजु दबदबे हिलो छ

खाएर मानो फलाऊ मुरी  यसैमा  भलो  छ

अँधेरी रात ठुलो छ फाँट झमक्क नपार

दहीचिउरा खान आऊ कान्छी  नानी हो पन्ध्र असार


बढ्दो छ खोला तार्ने को होला झमक्क साँझमा

हिलैमा बस्यो पिरती हाम्रो दिलको माझमा

मनको धोको मनमा राखी भो पोको नपार

दहीचिउरा खान आउ कान्छी नानी हो पन्ध्र असार


खेल न हिलो रमाइलो गर्दै बाउसेको साथमा

 खेलौला हिलो पख न पख बीउ छ हातमा

चौबन्दी चोली, चुल्ठीमा फूल, पोल्टोमा कसार

दहीचिउरा खान आउ कान्छी नानी हो पन्ध्र असार

                                  मध्यनेपाल- २, सोतीपसल, लमजुङ

No comments:

Post a Comment