जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह 'असुरक्षित गुलाब' बजारमा - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, February 16, 2021

जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह 'असुरक्षित गुलाब' बजारमा

 पोखरा । मुक्तककार जीवनसागर भण्डारी आफ्नो पहिलो कृति 'असुरक्षित गुलाब' मुक्तकसङ्ग्रह लिएर साहित्यप्रेमीमाझ आएका छन् । मङ्गलबार पोखरामा एक कार्यक्रममा भण्डारीको कृति सार्वजनिक गरिएको हो ।


आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, सोही प्रतिष्ठानका पूर्वसदस्य-सचिव तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रममा जीवनसागरका मुक्तक नेपाली मुक्तक साहित्यमा मानक मुक्तकका रुपमा रहने विश्वास व्यक्त गर्दै सरुभक्तले मुक्तकको विकासमा पोखराले गरेको योगदानको स्मरण गरे । देशको अवस्था नै असुरक्षित रहेको सन्दर्भमा कृतिभित्र समेटिएका मुक्तकले नेपाली जनजीवनलाई नजिकबाट छुने उनको भनाइ थियो ।

कवि तीर्थ श्रेष्ठले साहित्यिक विधाहरुलाई परिभाषामा समेट्ने प्रयास निरर्थक हुने जिकिर गरे । चार लाइनका रचनालाई मात्रै मुक्तक भनिने पछिल्लो चलनप्रति कडा प्रतिवाद गर्दै श्रेष्ठले गरुण पुराणदेखि लेखिँदै आएका मुक्तकीय रचनालाई निषेध गर्न नहुने भनाइ राखे । मुक्तक २, वा सोभन्दा बढी लाइनमा पनि लेख्न सकिने तर्क श्रेष्ठको थियो । "रुवाइ या चतुष्पदी मात्रै मुक्तक होइनन्", श्रेष्ठले भने, "तुकबन्दी मिलाउँदैमा मुक्तक हुने होइन ।" उनले नयाँ पुस्तामा गजल बिग्रेर बनेको २ सेरलाई मुक्तक भन्ने प्रचलनप्रति आलोचना गर्दै वाचनमा समस्या देखिएको भनाइ राखे । जीवनसागरले लेखेका मुक्तकहरुको प्रसंशा गर्दै उनले पोखराबाट एउटा गर्व गर्न लायक मुक्तक सङ्ग्रह आएको बताए ।

मुक्तककार भण्डारीले मुक्तकको सिद्धान्तभन्दा पनि विचार पक्ष सबल हुनुपर्ने विचार राखे । सिरानीमा रहेका पाण्डुलिपिहरुमध्ये साथीहरुको सल्लाहले मुक्तकले पहिलो कृतिका रुपमा सार्वजनिक हुने अवसर पाएको उनको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै मुक्तककार सन्जीव पौडेलले जीवनसागरका मुक्तकमा प्रेम, राजनीति र जनजीवनका उतारचढावहरु समेटिएको भनाइ राखे । भण्डारीलाई आलोचानात्मक यथार्थवादी र अस्तित्ववादी मुक्तककार रुपमा चित्रण गर्दै उनले कृतिमा समेटिएका मुक्तकहरु मुक्तक नबुझ्नेलाई बुझाउनका लागि पनि काम लाग्ने बताए ।

 

साहित्यकार ईश्वरमणि अधिकारीले कृतिकारको परिचय दिँदै जीवन बहुविधाका स्रष्टा भएको बताए । पोखरा-३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले जीवनसागरको जन्मभूमि भरतपोखरी क्षेत्रमा साहित्यिक जमघट हुने विशेष व्यवस्था गर्ने घोषणा गरे । परिवारका पूर्वअध्यक्ष दीपक समीपले जीवनलाई कृति प्रकाशनका लागि दिएको घुर्कीले सार्थकता प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।

साहित्य संयोजक रीता अधिकारीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

करिब डेढ दशकदेखि साहित्यकर्ममा क्रियाशील भण्डारीसँग पत्रकारिता गरेको अनुभव पनि छ । कथा, मुक्तक, गजल, गीतलगायतका विधामा कलम चलाउने जीवनको एफ एम रेडियो बोलको गीत आफ्नै स्वरमा रेकर्डसमेत भएको छ । उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष पनि हुन् । १०७ वटा मुक्तक समेटिएको कृति पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशन गरेको हो ।

 

 

No comments:

Post a Comment