पोखरा, चैत २१ गते । कथाकार भूमिराज बस्ताकोटीको नयाँ कथासङ्ग्रह ‘विक्रमादित्य ! यसको उत्तर भन’ शनिवार पोखरामा लोकार्पण भएको छ ।
सिर्जनशील लोकतान्त्रिक
प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सरुभक्त, विशिष्ट अतिथि रमेश श्रेष्ठ, स्रष्टा, परिचर्चाकारद्वय प्रा.डा. विष्णुप्रसाद पौडेल र डा. सवीन्द्रराज भण्डारी,
संस्थाका अध्यक्ष सुरज पौडेल तथा स्रष्टाका मातापिताले कृतिको
लोकार्पण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ
साहित्यकार सरुभक्तले स्रष्टाले पाठकको अपेक्षाअनुसार सिर्जना गर्दा त्यसले
धेरैलाई समेट्न सक्ने र बस्ताकोटीका कथाले त्यसलाई निर्वहन गरेको विचार व्यक्त गरे
।
कृतिमाथि परिचर्चा
गर्दै प्रा.डा. विष्णुप्रसाद पौडेलले सङ्ग्रहमा सङ्गृहीत २२ वटा कथालाई लामा, मध्यम तथा छोटामा वर्गीकरण गर्दै बस्ताकोटीको कथाशिल्प छोटा कथामा निकै
सशक्त रहेको धारणा व्यक्त गरे । कथाभित्र विभिन्न विषय र शिल्पका कथा भए पनि अरू
कथाका सापेक्षमा विनिर्मित कथाहरू सबल रहेको र त्यसले बस्ताकोटीको मौलिकतालाई पनि
बोकेको विचार प्रस्तुत गरे ।
कृतिमाथि परिचर्चा
गर्दै अर्का परिचर्चाकार डा. सवीन्द्रराज भण्डारीले बस्ताकोटीका कथामा आधुनिक तथा
उत्तरआधुनिक विविध शिल्पसँगै अधिआधुनिकताका विविध मान्यताको पनि उपयोग भएको धारणा
राखे । कतिपय कथाहरू चैतन्यको उच्चावस्थामा लेखेको र तिनले काफ्का जस्ता
विश्वव्यापी सुप्रसिद्ध कथाकारका कथा पढ्दा आउने भावतर्फ आफूलाई लगेको उनको धारणा
थियो ।
कार्यक्रममा कवि रमेश
श्रेष्ठ र कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्धरले कथाकार बस्ताकोटीलाई सुन्दर
कृति प्रकाशन गरेकामा बधाई ज्ञापन गरे ।
स्रष्टा भूमिराज
बस्ताकोटीले अचेतनावस्थाबाटै आफूमा कथाप्रति आकर्षण रहेको अहिले थाहा पाएको कुरा अनुभव
सुनाए । उनले कुनै घटना र सन्दर्भप्रति
प्रतिक्रियात्मक हुनु नै कथा सिर्जनाको मूल कारक रहेकाले कथा मान्छेको आदिम
चेतनासँग जोडिएको विचार राखे ।
बस्ताकोटीका यसअगि परिस्थिति
(२०५९), निर्मोचन (२०६८) र निमित्त मात्र (२०७१) गरी ३ उपन्यास, कार्निभल (२०७६)
कथा सङ्ग्रह र स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम (२०६६) समालोचना
प्रकाशित छन् । बस्ताकोटी पोखराकै कन्या क्याम्पसमा प्राध्यापनरत छन् ।
सिर्जनशील लोकतान्त्रिक
प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा.
श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव डा. पीताम्बर पौडेलले
कार्यक्रम सञ्चालन गरेका थिए ।

No comments:
Post a Comment