गण्डकी साहित्य सङ्गमको अध्यक्षमा पुनः भीम रानाभाट - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, November 28, 2026

गण्डकी साहित्य सङ्गमको अध्यक्षमा पुनः भीम रानाभाट



पोखरा, मङ्सिर १२ गते । गण्डकी साहित्य सङ्गम, पोखराको अध्यक्षमा पुनः भीम रानाभाट सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न १६ औँ साधारण सभा तथा अधिवेशनबाट रानाभाटको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा नारायण मरासिनी, सचिवमा विजया सुवेदी ‘उदासी’, कोषाध्यक्षमा काजी गाउँले र सदस्यहरुमा छविलाल आचार्य, कल्पना चिलुवाल र सुरज उपाध्याय सर्वसम्मत चयन भएका छन् । संस्थाको बन्दसत्रमा सचिव नारायण मरासिनीले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विजया सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन रघुनाथ अधिकारी, रुपिन्द्र प्रभावीलगायतका सदस्यहरूले दिएको सुझावअनुरूप परिमार्जनसहित पारित गरिएको थियो । प्रा. गेहेन्द्रेश्वर कोइराला र वाम बुद्धिजीवी एवम् लेखकद्वय रामराज रेग्मी र डा. कृष्णराज अधिकारी रहेको अध्यक्ष मण्डलले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

यथार्थ जीवनको कलात्मक प्रतिबिम्बनमार्फत जीवन र जगत्‌लाई रूपान्तरण गर्ने दिशामा कलम चलाउने स्रष्टाहरूको साझा सङ्गठनका रुपमा २०४९ सालमा स्थापित गण्डकी साहित्य सङ्गम को १६ औँ साधारण सभा तथा अधिवेशनको उद्‌घाटन सत्रमा लेखक तथा बुद्धिजीवीहरु डा. कृष्णराज अधिकारी, केशबहादुर परियार, झलकपाणि तिवारी, यादवचन्द्र भुर्तेल, नारायणकैलाश सिग्देललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा सङ्गम सांस्कृतिक मञ्चका तर्फबाट काजी गाउँले, विकास लुङ्गेली, डी.बी. बान्तवालगायतका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको थियो । यसै सत्रमा प्रलेस, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल र सेतीकाली साहित्य सङ्गम, तनहुँका उपाध्यक्ष जीवनसागरले रचना वाचन गरेका थिए । भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव नारायण मरासिनीले गरेका थिए ।

सो अवसरमा साहित्यकार विद्याविमल बरालद्वारा लिखित नवीनतम उपन्यास ‘पुनर्जागरण’ को परिचर्चासमेत गरिएको थियो । परिचर्चाकार प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले उपन्यासको विषयवस्तुलाई आर्थिक कोणबाट विश्लेषण गरेका थिए भने डा. कृष्णराज अधिकारीले यस उपन्यासले राष्ट्रियता तथा देशभक्तिको भावलाई मुखरित गरेको बताएका थिए । उपन्यासकार बरालले बिदेसिएका नेपालीहरूलाई स्वदेशमै फर्केर आफ्नै माटामा केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि आफूले यो उपन्यास लेखेको बताएका थिए ।



कार्यक्रममा प्रलेस, गण्डकीका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्याय, सङ्गमका पूर्व अध्यक्ष नारायण परिश्रमी, विजय ढकाल सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष माधवप्रसाद मिश्र, राजेन्द्र पौडेल, सिर्जना ढकाल, प्रलेसका केन्द्रीय सदस्य निर्मल सापकोटा, प्रलेसकै केन्द्रीय पार्षद आकाश अधिकारी, गुरुङ साहित्य मञ्चका तेजबहादुर गुरुङ, साहित्य शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम, बुद्धिजीवी रामजी थापा, राजकृष्ण श्रेष्ठ, धनबहादुर नेपाली, धनप्रसाद तामाङ, लक्ष्मी थापा, गीता तिवारी, उमाकान्त पोख्रेल, श्रीकृष्ण अधिकारी, गोपालमणि लामिछाने, लोकनाथ दवाडी, देवराज बराल, ढाकामोहन बराल, अर्जुनप्रसाद सुवेदी, रविराज बराल, डिल्लीप्रसाद ढुङ्गाना, सूर्यबहादुर कार्की, मुक्तिनाथ अधिकारी, अपार मरासिनी लगायतका साहित्यकार तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment