भेषजराज साहित्य प्रतिष्ठानको १०२ औँ शृङ्खला सम्पन्न - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Tuesday, November 10, 2026

भेषजराज साहित्य प्रतिष्ठानको १०२ औँ शृङ्खला सम्पन्न

 


स्याङ्जा, कार्तिक २३ गते । भेषजराज साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्ती, भेषजराज जयन्ती एवम् आफ्नो मासिक नियमित  रचनावाचनको १०२ औँ शृङ्खलाका साथै लीलाम्बर ढुङ्गानाको पछिल्लो कृति `स्मृतिका पाना र साहित्यका आयाम´ को विमोचन कार्यक्रम सोमवार स्याङ्जाको वालिङमा सम्पन्न गरेको छ ।

 कार्यक्रमका प्रमुख अतिथि पं. आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक साहित्यकार त्रिलोचन ढकालले कार्यक्रमको समग्र समीक्षा गर्दै कार्यक्रम अत्यन्त सफल रहेको र वालिङमा साहित्यिक कार्यक्रमहरूमा उत्साहजनक उपस्थिति हुनुमा साहित्यकार भेषजराज शर्मा र देवीप्रसाद वनवासीको योगदान प्रेरणा रहेको उल्लेख गर्नुभयो ।

उहाँले देवकोटा र भेषजराज शर्माको साहित्यिक योगदानको चर्चा गर्दै लीलाम्बर ढुङ्गानाको विमोचित कृति पनि पठनीय रहेको भनाइ राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथिहरू पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, पुष्पलाल अध्ययन केन्द्र स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नारायण मरासिनी, डा. तुलसीप्रसाद खनाल प्रभास, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीरलगायतले देवकोटाको साहित्यिक, राजनैतिक एवम्  सामाजिक योगदानका बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा विमोचित कृतिको समीक्षा गर्दै समीक्षकद्वय प्रा. डा. यमबहादुर पौडेल क्षत्री र डोलराज विकल्प डुम्रेले कृतिकार लीलाम्बर ढुङ्गानाको जीवनी, जागिरे जीवन र उहाँको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै उनको प्रस्तुत कृतिले उनलाई कुशल समीक्षकका रूपमा पनि स्थापित गराउन सफल हुने कुरा व्यक्त गर्नुभयो । प्रा. डा. यमबहादुर पौडेल क्षत्रीले ढुङ्गानाको यस कृतिले उनमा  निबन्धकार व्यक्तित्व पनि रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा अतिथिहरू अनन्त अर्याल, ढालबहादुर केसी, गोपाल जिटीलगायतले कार्यक्रमको सफलताको शुभकामनाका साथै तिहार लगायतका चाडहरूको शुभकामना दिनुभयो । कृतिकार लीलाम्बर ढुङ्गानाले आफ्नो कविता वाचन गर्दै आयोजक भेषजराज साहित्य प्रतिष्ठान र उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई आभार प्रकट गर्नुभएको थियो ।

नियमिति रचनावाचनअन्तर्गत स्याङ्जाका कविकवयित्रीहरू जयलाल सुवेदी, सीताराम अधिकारी, नारायणप्रसाद रेग्मी, शम्भु अर्याल, इन्द्र पाठक, दमकुमारी बगाले, पारिश्वर न्यौपाने, निलकण्ठ लम्साल, मिलन समीर, चक्रबहादुर पराजुली, ढालबहादुर केसी, कल्पना ढुङ्गाना, चिन्तु गिरी, सूर्यप्रसाद डुम्रे, खगेश्वर पाण्डे, मनिल रेग्मी, ममता रेग्मी, पूजा ढुङ्गाना, दिव्या शर्मा पौड्याल, सन्देश ढुङ्गाना, लक्ष्मी रेग्मी खनाल, टोलप्रसाद ढुङ्गाना, चूडामणि ढुङ्गाना, पोतप्रसाद ढुङ्गाना, सनतकुमार गैह्रे, प्रेमप्रसाद सुवेदी, डोलराज सुवेदी लगायतले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभयो ।

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले  गर्नुभएको थियो भने धन्यवाद सदस्य दीपक लम्सालले र सहजीकरण सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।

No comments:

Post a Comment