युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Monday, October 12, 2026

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

 


वालिङ, असोज २६ गते । युवा साहित्यकार वसन्त खनालको पहिलो कृति निर्बन्ध-आख्यान ‘वेध’ को आइतवार स्याङ्जामा लोकार्पण गरिएको छ ।

वालिङ उद्योग वाणिज्य सङ्घको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध–आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउटा महत्त्वपूर्ण कृतिका रूपमा आएकामा आफूलाई निकै खुसी लागेको कुलपति न्यौपानेको भनाइ थियो । उहाँले कृति ‘वेध’ पढ्नुपर्ने र गर्व गर्नलायक भएको बताउनुभयो । "`वेध´ प्रयोगका लागि प्रयोग भएको कृति होइन, कठोर साधना र अनुसन्धानपश्चात् लेखिएको कृति हो" उहाँले भन्नुभयो, "निबन्धलाई निर्बन्ध भनिएको पनि होइन, `वेध´ आफ्नो हुलिया स्पष्ट पार्दै सार्वजनिक भएको सिर्जना हो । नेपाली साहित्यमा `वेध´ विशिष्ट प्रकृतिको सिर्जना भएकाले नपढी सुखै छैन  ।"

साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडि बढेको बताउँदै साहित्यकार एवम् स्रष्टाको संरक्षणमा सहयोग गर्नेसमेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नुपर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेकोसमेत बताउनुभयो । साहित्यकार सहप्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका क्याम्पस प्रमुख डा. टङ्क पन्थ, समालोचक एवम् स्रष्टा डा. शङ्करप्रसाद गैरे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणवीर मावि, खहरेका प्रअ लक्ष्मीप्रसाद रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापालगायतले बोल्नुभएको थियो ।

युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यसँगै सम्पन भएको विशिष्ट साहित्यिक समारोहको अध्यक्षता कृतिकार वसन्त खनालका पिता सूर्यप्रसाद खनालले गर्नुभएको थियो ।

कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार एवम् स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । जिल्लामा सक्रिय साहित्यिक सङ्घसंस्थाका मूल कर्तालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रम वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।

प्रस्तुत कृतिको मूल्य रू. ७५०/- रहेको र सम्पर्क विन्दुको रूपमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान- २०७६ स्याङ्जा र काठमाडौँका लागि भुँडीपुराण प्रकाशन गृह, बागबजार, देशैभरि वितरणको लागि सम्पूर्ण किताब, भरतपुर, चितवन र स्थानीयको लागि विद्या बुक्स एण्ड स्टेशनरी, नयाँबजार, वालिङ रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

No comments:

Post a Comment