भुर्जुङखोला, कास्की, कार्तिक १ गते । सार्दिखोला साहित्य चौतारी, माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोला, कास्कीको आयोजनामा नियमित रचना वाचन कार्यक्रमको दोस्रो शृङ्खलाअन्तर्गत सिर्जना साहित्य सदन, घाचोकसँगको साहित्यिक हातेमालो तथा रचना वाचन कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा दुवै साहित्यिक संस्थाका पदाधिकारी, साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कविता, लघुकथा, बालकथा, मुक्तक,
नाट्य प्रस्तुति तथा पुस्तक समीक्षालगायतका सिर्जनात्मक गतिविधि
सञ्चालन गरिनुका साथै साहित्यिक संस्थाहरूबिच सहकार्य, साहित्य
प्रकाशन, संस्थागत विकास र सिर्जनाको संरक्षणसम्बन्धी विषयमा
विचार तथा अनुभव आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा सिर्जना
साहित्य सदनका प्रतिनिधि टेकनाथ पीडितले साहित्यिक पत्रपत्रिका प्रकाशनका लागि
आवश्यक सुझाव प्रस्तुत गर्दै साहित्यिक सिर्जनाको संरक्षण, अभिलेखीकरण तथा प्रचारप्रसारमा जोड दिए। कुल गुरुङले प्रकृति र यसको
महत्त्वलाई समेटिएको कविता प्रस्तुत गरे। त्यसैगरी, शुक्लागण्डकी
साहित्य सदनसँग आबद्ध सूर्य लम्सालले व्यक्तिपूजाको प्रवृत्ति, राजनीतिक सुशासन तथा साहित्यिक विषयवस्तुसँग सम्बन्धित विचार र कविता
प्रस्तुत गरे ।
यसै क्रममा प्रतीक
आचार्यले नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको आत्मकथात्मक कृति आई एम
मलाला (I
Am Malala) को समीक्षा प्रस्तुत गरे । पुस्तक समीक्षामार्फत
साहित्यिक कृतिको अध्ययन, विश्लेषण र त्यसबाट प्राप्त हुने
ज्ञानलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभ्यासलाई कार्यक्रममा स्थान दिइएको थियो
।
सङ्गीता केसीले
‘डल्लिमाया’ शीर्षकको लघुकथा तथा दसैँसँग सम्बन्धित अर्को लघुकथा प्रस्तुत गरिन्।
रामजी आचार्यले कविता वाचन गरे भने शुक्लागण्डकी साहित्य सदनसँग आबद्ध राजाराम
पौडेलले साहित्य प्रकाशनसम्बन्धी सुझाव प्रस्तुत गर्दै मुक्तक वाचन गरे । सन्तोष
आचार्यले ‘छिरिङको कथा’ शीर्षकको बालकथा सुनाउँदै बालसाहित्यको महत्त्व र
बालबालिकामा पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकतालाई उजागर गरे ।
सृजना साहित्य सदन, घाचोककी अध्यक्ष मेनका आचार्य पोखरेलले साहित्यिक संस्थाहरूको इतिहास,
योगदान र भावी सम्भावनाबारे आफ्ना विचार व्यक्त गर्दै कविता वाचन
गरिन् । हर्कबहादुर घर्तीले हिन्दी कविता प्रस्तुत गर्नुका साथै त्यसको भाव नेपाली
भाषामा वर्णन गरे। सृजना साहित्य सदनका निवर्तमान अध्यक्ष शिवप्रसाद पोखरेलले दुई
संस्थाबीचको सम्बन्ध सुदृढ बनाउँदै साहित्यिक अनुभव र विचार आदानप्रदान गर्ने अवसर
प्राप्त भएकामा खुसी व्यक्त गरे ।
सार्दिखोला साहित्य
चौतारीका अध्यक्ष छविलाल आचार्यले साहित्यिक संस्थाहरूको स्थापना, सञ्चालन र निरन्तरताको महत्त्वमाथि प्रकाश पार्दै साहित्यिक गतिविधिलाई
नियमित रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले स्थानीय प्रतिभाको पहिचान,
नयाँ स्रष्टालाई प्रोत्साहन तथा साहित्यिक संस्थाहरूबीच सहकार्य
विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे । साथै, उनले दसैँसँग
सम्बन्धित कविता वाचन गर्दै कार्यक्रममा सहभागी सृजना साहित्य सदनका
प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा भानुभक्त
पोखरेल ‘अविरल’ ले रचना हस्तान्तरणसम्बन्धी नाट्य प्रस्तुति तथा बाढीपहिरोबाट
उत्पन्न विपद् र त्यसले निम्त्याउने पीडालाई समेटिएको ‘त्यो कालदिवस’ शीर्षकको
कविता प्रस्तुत गरे । उनले साहित्यिक संस्थाले आफ्नै जग्गा र भवन निर्माण गर्ने
दीर्घकालीन लक्ष्यसहित योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने सुझाव दिए । संस्थामा
रहेका सम्भावना र क्षमताको पहिचान गरी सामूहिक प्रयासका माध्यमबाट लक्ष्य प्राप्त
गर्न सकिने धारणा राख्दै उनले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई साहित्यिक
सिर्जना र वाचनमा प्रोत्साहित गर्न पनि आग्रह गरे ।
कार्यक्रमले साहित्यिक
सिर्जना,
पठन संस्कृति, रचना वाचन र संस्थागत सहकार्यको
महत्त्वलाई उजागर गरेको थियो । यस्ता कार्यक्रमले स्थानीय स्तरमा साहित्यिक
गतिविधिको विस्तार, नयाँ प्रतिभाको पहिचान तथा भाषा र
साहित्यको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सार्दिखोला साहित्य
चौतारीले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रचना वाचन कार्यक्रम सञ्चालन
गर्दै आएको छ । कार्यक्रमको दोस्रो शृङ्खलाका रूपमा आयोजित यस साहित्यिक भेटघाटले
दुई संस्थाबीच आपसी सिकाइ, अनुभव आदानप्रदान र सिर्जनात्मक
सहकार्यलाई थप प्रगाढ बनाउने आधार तयार गरेको छ ।
कार्यक्रम सार्दिखोला
साहित्य चौतारीका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने
संस्थाका सचिव सन्तोषकुमार आत्रेयले कार्यक्रम सञ्चालन गरेका थिए ।

No comments:
Post a Comment