पोखरा, माघ १० गते । साहित्यकार सरुभक्तका ७ ओटा कविताकृति एउटै कृतिभित्र समावेश गरी नयाँ कृति सार्वजनिक गरिएको छ ।
‘सरुभक्तका
कविता’ नामक कृतिको शनिवार पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित
कार्यक्रममा सरुभक्तकै समकालीन साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरे । वि.
सं. २०३५ मा पहिलो पटक ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह प्रकाशन गरी
प्रकाशनयात्रा थालेका सरुभक्तको दोस्रो कृतिका रूपमा २०४० मा ‘बोक्सीको आह्वान र घोषणापत्र’
नामक कविता सङ्ग्रह प्रकाशन भएको थियो । त्यसयता प्रकाशित ७ कविता सङ्ग्रह र फुटकर
रूपमा पत्रपत्रिकामा प्रकाशित कविताहरू समेटेर ६४२ पृष्ठको ‘सरुभक्तका कविता’
प्रकाशन भएको साहित्यकार सरुभक्तले बताए । उनले नयाँ पुस्तालाई सुलभ रूपमा विगतका
कविताकृतिहरू अध्ययन गर्ने मौका प्रदान गर्नका लागि यसरी सबै कृतिलाई एकै ठाउँमा
समावेश गरिएको जानकारी दिए । तिसको दशकमा कविता लेखनको प्रारम्भिक चरणको स्मरण
गर्दै सरुभक्तले समकालीन कविहरूका बिचमा रहेको सद्भावपूर्ण सम्बन्धका कारण कवित्व
फस्टाएको धारणा राखे ।
यसअगि
‘सरुभक्तका मुक्तक’ नामक कृतिमा उनका विभिन्न मुक्तक सङ्ग्रहका मुक्तक समावेश गरी
प्रकाशन गरिएको थियो । ‘पागल बस्ती’ उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता
सरुभक्तका उपन्यास, नाटक, कथा, कविता, गजल, मुक्तक, खण्डकाव्यलगायत विभिन्न विधाका
५० भन्दा बढी कृति प्रकाशित छन् ।
कार्यक्रमकी
प्रमुख अतिथि रहेकी साहित्यकार उषा शेरचनले सरुभक्तसँगको साहित्यिक सहकार्यको स्मरण
गरिन् । उनले सरुभक्तले निस्वार्थ मित्रताको गतिलो उदाहरण साहित्यिक समाजमा प्रस्तुत
गरेको अनुभव सुनाइन् । सरुभक्त पोखराको मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव
भएको बताउँदै शेरचनले सरुभक्तका कवितामा पाइने जीवन दर्शन उल्लेखनीय रहेको धारणा
राखिन् । यो एक असाधारण कृति भएको उल्लेख गर्दै उनले सरुभक्तलाई ‘गण्डकी गौरव’ को
संज्ञासमेत दिइन् ।
कार्यक्रममा
वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले प्रारम्भदेखि आजसम्म पनि उस्तै
अनुशासनपूर्वक साहित्य साधनामा लाग्नु सरुभक्तको विशिष्ट गुण भएको बताए ।
कृतिको
प्रकाशक सरुभक्त केन्द्रकी उपाध्यक्ष सरस्वती प्रतीक्षाले ‘सरुभक्तका कविता’ मा
इन्द्रेणीका सात रङ भए जस्तै रङ्गीन कविता समेटिएको बताइन् । नवप्रवेशीका लागि
प्रेरणादायी र स्थापितका लागि अध्ययन केन्द्रका रूपमा लिन सकिने कविता कृतिभित्र
समेटिएको उनको भनाइ थियो ।
कवि
रमेश श्रेष्ठले सरुभक्त ‘मासका’ कवि नभई ‘क्लासका’ कवि भएको बताए । उनका कविताले मष्तिष्कले
बुझ्नुपर्ने अवस्था सिर्जना गर्ने श्रेष्ठको भनाइ थियो ।
लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाले सरुभक्तले सिङ्गो नेपाली साहित्यलाई अभिभावकत्व प्रदान गरेको बताइन् । सबै विधामा उत्तिकै सफल कलम चलाउनु सरुभक्तको विशेष क्षमता भएको कोइरालाको भनाइ थियो ।पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा सरुभक्तका कविता प्रकाश घिमिरे, अनुप बराल, डा. ईश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षाले वाचन गरेका थिए । सचिव एमडी काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए ।










No comments:
Post a Comment