पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराद्वारा आयोजित 'जेन्जी विद्रोह र अबको निकास' विषयक अन्तरक्रिया शनिवार सम्पन्न भएको छ । संस्थाका आजीवन सदस्य कपिलमणि दाहालको छलफलपत्र प्रस्तुतिपछि १३ जना सहभागीहरूले छलफलमा सक्रिय सहभागिता जनाउँदै जिज्ञासा राखेका थिए । जिज्ञासा राख्नेहरूमा जेन्जीहरूको पनि सहभागिता रहेको थियो ।
छलफलपत्र प्रस्तोता
दाहालले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा विभिन्न कालखण्डमा सुशासन र परिवर्तनको
माग राख्दै युवा आन्दोलन हुने गरेका तथ्यलाई अगाडि सारेका थिए । नेपालमा गत भदौ २३
र २४ गते भएको जेन्जी विद्रोह पनि त्यसैको निरन्तरता भएको उनको दाबी थियो यद्यपि
यो आन्दोलन राजनीतिक व्यवस्था परिवर्तनका लागि नभएर सुधारका लागि भएको थियो ।
पुराना भनिएका राजनीतिक दलको अकर्मण्यता र अधिनायकवादी चरित्रकै कारण सुशासन र
पुस्तान्तरणको माग राख्दै जेन्जीहरू सडकमा ओर्लिएका थिए । यो विद्रोह अप्रत्याशित
जस्तो देखिए पनि लामो समयदेखिको असन्तुष्टि, उकुसमुकुस र
मौनता एकैचोटि विस्फोट भएर शासनसत्ता नै पल्टिने अवस्था सिर्जना भएको हो । अहिले
नेपालको राजनीति तरल अवस्थामा छ । यथास्थितिमा गरिने भनिएको निर्वाचनले जेन्जीका
जायज मागलाई सम्बोधन गर्नसक्ने अवस्था देखिँदैन भन्ने उनको भनाइ थियो ।
अबको बाटो भनेको
सर्वपक्षीय गोलमेच सम्मेलन, गोलमेचले संविधानमा संशोधन
गर्नुपर्ने विषयको निर्क्योल, राष्ट्रपति वा अदालतले केही
समयका लागि संसद्को पुनर्स्थापना र संसद्ले संविधानको आवश्यक संशोधन गरेपछि मात्र
निर्वाचनमा गइयो भने मुलुकले उचित निकास पाउँछ भन्ने प्रस्तोताको जिकिर थियो ।
कार्यक्रममा सूर्यभक्त सिग्देल, डा. लक्ष्मीशरण अधिकारी,
डा. वासुदेव भण्डारी, विवेक भट्टराई, पुष्पनिधि अमगाईँ, डा. नवराज न्यौपाने, पद्मशरण रेग्मी, मुक्तिराम पौडेल, कृष्णप्रसाद तिमिल्सेना, पुण्यप्रसाद भट्टराई,
वसन्त पराजुली, कृष्णप्रसाद तिमिल्सिना,
मनोज सुवेदीले छलफल पत्रमाथि जिज्ञासा राखेका थिए ।
संस्थाका अध्यक्ष सुरज
पौडेलको अध्यक्षतामा तथा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागतमा सम्पन्न कार्यक्रम सचिव डा. पिताम्बर पौडेलले
सञ्चालन गरेका थिए ।

No comments:
Post a Comment