भरतपुर । गजल मञ्च चितवनले समालोचक रमेश प्रभातको ५३ औँ शुभ जन्मदिनको अवसरमा उनको दोस्रो निसमालोचना कृति 'अरु अलिकति फरक कुरा'को परिचर्चा कार्यक्रम सम्पन्न गर्यो । अन्य कार्यक्रमभन्दा फरक रहेको उक्त कार्यक्रममा सोही सङ्ग्रहका समेटिएका चितवनका छजना सर्जकहरुले आफ्नो अभिमत राखेका थिए ।
उक्त
समालोचना कृतिमा २९ वटा समालोचना समेटिएकोमा उपलब्ध छजना सर्जकमध्ये सुरेन्द्र
अस्तफलले आफ्ना कवितामा प्रेम र यौन मात्र नभएर समाजका विविध पक्ष रहेको जिकिर
गर्दै ती पक्ष छुटेको कुरा गरे । त्यस्तै गणेश श्रमण र किसान प्रेमीले आफ्ना
कृतिमाथि न्याय भएको अभिमत राखे । उदय अधिकारीले आफूलाई समेटे पनि समग्र कृति
नआएको गुनासो गरे भने सिर्जन अविरलले रमेश प्रभातको क्षमता अझै नखुलेको विचार राखे
। त्यस्तै विद्या भण्डारी चिरागले बालसाहित्यका बारेमा पनि समीक्षा गरेकोमा
धन्यवाद दिइन् ।
त्यस्तै
पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली र पत्रकार तथा आख्यानकार
सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा उठेका सवालको जवाफ
दिँदै कृतिकार रमेश प्रभातले अबको समालोचनाको नेतृत्व निसमालोचनाले गर्छ भन्ने
धारणा अघि सारे । उनको विचारमा समालोचना बचाउन पनि यसो गर्नु परेको हो ।
सम्पूर्ण
किताब नारायणगढमा आयोजित उक्त कार्यक्रमलाई आयोजक संस्था गजल मञ्च चितवनले `सर्जकहरुको अभिमत´ नाम राखेको थियो । उक्त
कार्यक्रमको सहजीकरण सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले गरेका
थिए भने अध्यक्षता गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले गरेका थिए ।
No comments:
Post a Comment