पोखरामा विश्वम्भराको विमर्श - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Saturday, January 20, 2024

पोखरामा विश्वम्भराको विमर्श

  


पोखरा । नेपाली लेखक सङ्घ, कास्कीले शनिवार पोखरामा कवि भगवती बस्नेतको कविता सङ्ग्रह ‘विश्वम्भरा’ माथि विमर्श गरेको छ ।

सङ्घकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै युवा साहित्यकार तारानाथ पराजुलीले अध्यात्म, प्रेम, व्यङ्ग्य जस्ता विषयवस्तुमा लेखिएका कविता कृतिमा समेटिएको बताए । कृतिका आधारमा राष्ट्रप्रेमी कविका रूपमा बस्नेतलाई चिन्न सकिने भन्दै पराजुलीले छन्दको सफल प्रयोग भएको कृतिका रूपमा विश्वम्भराको चर्चा गरे ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले कविता छन्द वा गद्य जुन शैलीमा लेखिए पनि त्यसको ओज महत्त्वपूर्ण रहेको तर्क गरे । गद्यमा लेख्नेले शास्त्रीय छन्दमा लेख्नेलाई कहिल्यै होच्याएको आफूले थाहा नपाएको बताउँदै उनले छन्दका अभियन्ताहरूले पनि आफ्ना विचार प्रचार गर्दा अन्यलाई होच्याउने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको लेखन प्रसङ्ग कोट्याउँदै उनले उनीहरूले शास्त्रीय छन्द र मुक्त छन्द दुवैमा सशक्त कलम चलाएका धारणा राखे ।

छन्द बचाऊँ अभियानका सञ्चालक माधव वियोगीले कविताले छन्दलाई छोड्न नहुनेमा जोड दिएका थिए । उनले लयबिना कविता हुनै नसक्ने ठोकुवा गरे । कवि भगवती बस्नेतले आफू छन्द र गद्य दुवै शैलीमा कविता लेख्न मन पराउने व्यक्ति भएको बताइन् । यसअघि उनको गद्य कविता सङ्ग्रह प्रकाशित छ ।

उपाध्यक्ष कलम पौडेल ‘अथक’ ले स्वागत गरेका कार्यक्रममा  शिव त्रिपाठीशुभ शर्मा र निकेश गिरीले पुस्तकबाट एक एक कविता वाचन गरेका थिए । नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष  डा. ईश्वरमणि अधिकारी र केन्द्रीय  सचिव डा. गणेश शर्माले  शुभकामना  मन्तव्य  व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए ।

यसै बिच, नेपाली लेखक सङ्घले प्रदान गर्ने लेखक कृति पुरस्कार यस वर्ष प्रदिप रोदनको गजल सङ्ग्रह मफलरलाई प्रदान गरिने भएको छ । प्राप्त कृतिहरूमध्ये छनोट समितिको सिफारिसमा मफलरलाई २५ हजार रुपियाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष रीता अधिकारीले जानकारी दिइन् ।

No comments:

Post a Comment